धरान धरानमा पछिल्लो समय डेंगुका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

गतबर्ष यति बेला डेंगुले आक्रान्त पारेको धरान उपमहानगरपालिकामा यो वर्ष कोरोना भाइरसले धरानमा डेंगुको प्रकोपलाई ओझेलमा पारेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार अहिले सम्म आई पुग्दा धरानमा ८ जनामा डेंगु भएको पाइएको छ । बाहिर २०,३० जना डेंगुका बिरामी भेटिएको भनिए पनि त्यस्तो नभएको र आधिकारिक भनेको धरानमा ८ जनामा डेंगु भएको पाइएको छ ।

डेंगु गतबर्ष यति बेला पुरै फैलिएको थियो । डेंगु नियन्त्रण र न्यूनीकरणका लागि धरान उपमहानगरपालिकाले फगिङ गर्ने, सर्च एन्ड डिस्ट्रोए लगायतको अभियान चलाएको थियो । तर यसपटक पनि धरानमा डेंगुका बिरामी नदेखिएका भने होइन । तर विश्वमा महामारीकोरुपमा देखा परेको करोना भाइरसको कारण धरानमा डेंगु नियन्त्रण सम्बन्धी कुनै पनि गतिविधि भएको छैन ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार अव धरानमा धरान उपमहानगरको विभिन्न वडामा रहेका टोल विकास समितिहरू मार्फत डेंगु नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने र सर्च एन्ड डिस्ट्रोए गर्ने तयारी भइरहेको छ ।

कोरोना भाइरसमा मात्रै सबैको ध्यान केन्द्रित भएकोले भोलि गएर धरानमा फेरी डेंगुले अर्को महामारी निम्तिन सक्ने भएकोले यसबारेमा पनि बेलैमा सचेतता अपनाउनुपर्ने जरुरी भएको स्वास्थ्यविज्ञहरुको भनाई छ । पछिल्लो समय निरन्तरको वर्षासँगै लामखुट्टे पनि बढेकोले डेंगुको बारेमा पनि सचेत र सजग रहनका लागि पुर्वतयारी अपनाउन अत्यन्तै जरुरी भएको छ ।