धरान : धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४३ औं संचालक परीषद्को बैठकबाट प्रतिष्ठानका कर्मचारीको तलव २०७७ श्रावण १ गते देखि वृद्धि गर्ने निर्णय गरेको छ ।

गत चैतमा नियुक्त भएका उपकुलपति प्रा .डा ज्ञानेन्द्र गिरीले सोमबार जारी गरेको सर्कुलरमा श्रावण १ गतेदेखि तलव बढेको उल्लेख छ । बैठकले वृद्धि गरेको तलव प्रतिष्ठानको आन्तरिक श्रोतबाट सबै शिक्षक, चिकित्सक कर्मचारीहरुको २० प्रतिशत तलव उपलब्ध गराउने निर्णय गरेको हो ।

उपकुलपतिद्वारा जारी सर्कुलर अनुसार श्रेणी विहीनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक लतवमा २० प्रतिशत, अधिकृतस्तरदेखि डेपुटी रजिष्टारसम्मका कर्मचारीहरुको १५ प्रतिशत र सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बेसिक तलवमा १० प्रतिशत वृद्धि गरिने उल्लेख छ ।

श्रेणीविहीन अन्य कर्मचारीलाई यही असार १५ गतेदेखि नै श्रोतको उपलब्धता भएसँगै क्रमिक रुपमा उपलब्ध गराउने निर्णय भएको प्रतिष्ठानको जारी सर्कुलरमा उल्लेख छ ।