धरान : वृद्धि भएको तलबमानप्रति असन्तुष्टि जनाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले  उपकुलपतिको कार्यालयमा धर्ना दिई रहेका छन् ।

फ्याकल्टी वेलफेयर सोसाइटिको नेतृत्वमा धर्ना बसिरहेका शिक्षक चिकित्सकहरू अहिले तलबमान १० प्रतिशत मात्रै वृद्धि गरिएको भन्दै सबैको समान वृद्धि हुनुपर्ने माग गर्दे धर्ना बसेका हुन् । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सोमबार कर्मचारी, शिक्षक तथा चिकित्सकहरूको तलब वृद्धि गर्ने निर्णय गरेका थिए । जसअनुसार सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरूको हकमा बेसिक तलबमा १० प्रतिशतका दरले तलब वृद्धिको निर्णय भएको थियो ।

यो निर्णयप्रति शिक्षक चिकित्सकहरूले असन्तुष्टि जनाउँदै उपकुलपतिको कार्यालय अघि भेला भएर धर्ना दिइरहेका छन् भने वार्तामा पनि बसेका छन् । एमबिबिएस, विडिएस, नर्सिङ, एमडीएमएच पढाउने शिक्षकहरूले तलबमान प्रति असन्तुष्टि जनाएका हुन् । श्रेणीबिहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरूको बेसिक तलबमान २० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका थिए भने अधिकृत स्तर देखि डेपुटी रजिस्ट्रारसम्मका कर्मचारीहरूको १५ प्रतिशत तलब वृद्धिको निर्णय उपकुलपतिले गरेका थिए ।

डेढ सयको हाराहारीमा रहेका शिक्षक चिकित्सकहरुको भने १० प्रतिशत मात्रै वृद्धि गरिएकोमा उनीहरूले समान तलबमान वृद्धि हुनुपर्ने माग गर्दै आन्दोलित भएका हुन् ।