धरान : लकडाउनको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मङ्गलवार रातिदेखि लागू हुने गरी पेट्रोलमा एकै पटक प्रति लिटर ५ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य बढाइएको छ । बढेको मूल्यसँगै अब पेट्रोलको नयाँ मूल्य प्रति लिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रति लिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रति लिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रति लिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जानकारी दिएको छ ।