धरान : प्रदेश नं.१ मा ४१ हजार ३ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

परीक्षण भएकामध्ये पीसिआर विधिबाट २३ हजार ५ सय ७७ र आरडिटी विधिबाट १७ हजार ७ सय ६२ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महासखाले सो जानकारी दिएको हो ।

महाशाखा प्रमुख सागर प्रसाईँका अनुसार वैशाखमा पिसिआर विधिबाट दुई हजार ४ सय ३९ र आरडिटी विधिबाट ८ हजार ६ सय ७४, जेठमा पिसिआर विधिबाट १२ हजार ९ सय २१ र आरडिटी विधिबाट ६ हजार ९ सय २७ तथा असार १५ सम्ममा पिसिआर विधिबाट ८ हजार २ सय १७ र आरडिटी विधिबाट २ हजार १ सय ६१ जनाको परीक्षण भएको छ ।

अहिले सम्म प्रदेश नं. १ मा ३ सय ९२ जना कोरोना सङ्क्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् । अहिले प्रदेश नं. १ का विभिन्न आइसोलेसन कक्ष एवं उपचार केन्द्रमा १ सय ७५ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रसाईँले जानकारी दिएका छन् ।