झापा : झापामा आज एकैदिन २० जना कोरोना संक्रमित थपिएका छन् । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष र गौरीगञ्जमा १ जना पुरुषमा संक्रमण देखा परेको हो । यो सँगै झापामा खतरा बढ्दै गएको देखिएको छ ।

यस क्रममा आजै झापाको दमकबाट ५३ जनाको स्वाब सङ्कलन गरिएको छ । क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका उनीहरूमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो । दमकका २ वटा क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरी ५३ जनाको स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलन गरिएकामा ३५ पुरुष छन् भने १८ महिला छन् । ती मध्ये मानसरोवर कलेजमा रहेको क्वारेन्टाइनका २१ पुरुष, मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका १५ , होम क्वारेन्टाइनका १२ पुरुष, ३ महिला र २ जना पुरुष स्वास्थ्यकर्मी रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनीहरूको स्वाब परीक्षणका लागि विराटनगरको कोशी प्रादेशिक अस्पताल पठाइएको छ । परीक्षणको रिपोर्ट पर्सी आउने सदस्य सचिव भट्टराईले जानकारी दिए ।