झापा : ट्राफिक प्रहरी कार्यालय दमक झापाको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गत वर्षको वैशाख २३ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवनको तेस्रो तलाको ढलानको काम सकिएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार जम्मा दुई करोड ८३ लाख २७ हजार दुई सय ५० रुपैयाँको लागतमा दमक ट्राफिकको तीन तले सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम जारी छ ।

भवन निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७७ साल वैशाखमा भनिएको भए पनि कोरोना भाइरसको प्रभावका कारण मुलुक लकडाउनमा गएका कारण करिब ३ महिना कामनै ठप्प भएको थियो । अहिले मजदुरहरूलाई सामाजिक दुरी कायम गराएर, स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर पुन निर्माणको काम सुचारु गरिएको ट्राफिक प्रमुख शर्माले जानकारी दिए ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, दमक नगरपालिका र दमकका स्थानीयबासीहरुको सहयोगमा निर्माणाधीन भवनमा १४ वटा कोठा रहने र छुट्टै मेस समेत निर्माण गरिने बताइएको छ ।