झापा : झापामा सर्पदंशका बिरामी बढेका छन् । झापामा विशेषगरी ग्रामीण भेगका सर्वसाधारण सर्पको डसाइबाट पीडित बन्ने गरेका छन् ।

सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्क अनुसार गत वर्ष १ हजार ३ सय ३६ जना सर्पदंशका कारण बिरामी भए । जसमध्ये ३१ जनालाई विषालु सर्पले डसेको थियो । झापासहित देशभरनै विषालुभन्दा नविषालु सर्पको डसाइबाट धेरै मानिस प्रभावित हुँदै आएका सर्पदंश उपचार केन्द्र चारआलीका डा. सुलभ श्रेष्ठले जानकारी दिए ।

सर्पदंश उपचार केन्द्र चारआलीमा चालू आर्थिक वर्षको वैशाख, जेठ र असारको दोस्रो हप्तासम्ममा सर्पदंशको उपचार गराउनेको सङ्ख्या २ सय ५० रहेको सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्कमा उल्लेख छ । यस्तै दमकस्थित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा वैशाख र जेठमा मात्रै १ सय ६८ जनाले सर्पदंशको उपचार गराएका छन् ।

झापामा सर्पदंश उपचार केन्द्र चारआलीसहित दमकस्थित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्र र कनकाई नगरपालिकाको कोटीहोम स्थित सहारा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले उपचार पाउँदै आएका छन् ।

सर्पदंशका कारण हरेक वर्ष झापामा कति मानिसले अकालमा ज्यान गुमाउँदै आएका छन्, त्यसको यकिन तथ्याङ्क छैन । तर, सर्पदंशका कारण बिरामीको सङ्ख्या भने हरेक वर्ष बढ्दो छ । हरेक वर्षको वर्षायाम सुरु भएसँगै झापामा सर्पदंशका बिरामी बढ्ने गरेको तथ्याङ्कले देखाउँछ ।

ग्रामीण क्षेत्रका सर्वसाधारण विशेषगरी सर्पको डसाइबाट हरेक वर्ष सबैभन्दा धेरै पीडित हुने गरेका छन् । प्रत्येक वर्ष झापामा झन्डै तीन हजार पाँच सय जना सर्पको डसाइबाट बिरामी पर्ने गरेका छन् ।