धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरू फेरी आन्दोलित भएका छन् ।

प्रतिष्ठानमा कार्यरत रहेका मेडिकल अफिसरहरूले गएको आर्थिक वर्ष २०७६,०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दे अहिले उनीहरूले उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका छन् ।प्रतिष्ठानको ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन् ।

मेडिकल अफिसरहरूको सरकारी तलब स्केल ४५ हजार तोकिएको छ । तर प्रतिष्ठानमा कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएकोले सरकारी तलब स्केल अनुसार तलब पाउनुपर्ने माग गर्दे प्रतिष्ठानका मेडिकल अफिसरहरू आन्दोलित भएका हुन् ।

प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरू आन्दोलित भएर उपकुलपतिको कार्यालय अगाडी धर्नामा बसेपछि अहिले इमरजेन्सी, ग्यास्ट्रो, कार्डियो, पल्मो, पेडियाट्रीक, डेन्टल विभागमा मेडिकल अफिसरहरूको उपस्थिति छैन । एमडी पढ्ने जुनियर रेसिडेन्टहरुले मात्रै सेवा दिइरहेका छन् । उनीहरू पनि १० जना हुनुपर्नेमा २ जनाले मात्रै सेवा दिइरहेको बताइएको छ ।

नेपाल सरकारले तोकेको अनुसार पाटन, बीर, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले तलब दिइरहेको भए पनि प्रतिष्ठानले अहिले सम्म नदिएकोले आफूहरूले आन्दोलन सुरु गरेको एक मेडिकल अफिसरले बताए । उनका अनुसार जब सम्म माग पुरा हुँदैन तब सम्म आफूहरू काममा नफर्कने पनि बताए ।

Medical-Officer-Aandolan