धरान : सप्तरी जिल्लामा पछिल्लो समय क्वारेनटाइनमा बस्नेको सङ्ख्या घटेको छ ।

एक समय दैनिक १ सय देखि करिब २ सय जना सम्म भारतबाट सप्तरीवासी जिल्ला भित्रिदा सप्तरी जिल्लामा बनेका ८६ वटा क्वारेनटाइनमा २ हजारको हाराहारीमा मानिस राखिएका थिए । अहिले घटेर सप्तरीमा क्वारेनटाइनमा बस्नेको सङ्ख्या ४ सय ८९ जना मात्रै रहेको छ ।

सप्तरीमा अहिले सम्म २ सय ५८ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ । सङ्क्रमित मध्ये १ सय २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यसै गरी अहिले १ सय ३८ जना सङ्क्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

पछिल्लो समय अस्पतालमा बिरामीको सङ्ख्या पनि घटेको छ भने क्वारेनटाइनमा बस्नेको सङ्ख्या पनि घटेको छ । यसो हुनुको मुख्य कारण क्वारेनटाइनमा रहेकाहरूको चाँडो पिसिआर परीक्षण हुनु र रिपोर्ट नेगेटिभ आएकाहरूलाई घर पठाउनुले गर्दा क्वारेनटाइनमा बस्नेको सङ्ख्या घटेको स्वास्थ्य प्रमुख यादवले बताए ।

अहिले पछिल्लो समय राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा रहेको कोरोना परीक्षण गर्ने ल्याबले पनि दैनिक २ सय जना सम्मको पिसिआर परीक्षण गर्न थालेको र विराटनगर को ल्याबले पनि परीक्षण गरिदिएकोले चाँडो रिपोर्ट आउन थालेकोले क्वारेनटाइनमा बस्नेहरूमा रिपोर्ट नेगेटिभ आउने बित्तिकै घर पठाउनाले क्वारेनटाइनमा सहजता आएको हो । सप्तरीमा आइसोलेसन बेड पनि बढाइएको छ । सप्तरीको शाही कृष्ण प्रस्तावित मेडिकल कलेजमा १ सय बेडबाट सुरु गरिएकोमा अहिले बढाएर १ सय ६७ बेड पुराइएको छ ।

सप्तरीमा अहिले सम्म २ हजार २ सय २१ जनाको आरडिटी, र ४ हजार ४ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अहिले पछिल्लो समय सप्तरीमा भारतबाट आउनेको सङ्ख्या पनि ह्वात्तै घटेको छ । अहिले दैनिक फाट्टफुट्ट मात्रै रहेको छ ।