पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिकाले भदौबाट बजार क्षेत्रमा बाहिर मासु काटेर बिक्री वितरणमा रोक लगाउने भएको छ । नगरभित्रै वधशाला निर्माण भएपछि पथरी बजारमा भित्र बिक्री हुने मासु लाई वधशाला बाटै बिक्री वितरण गर्नुपर्ने नियम लगाउन लागेको हो ।

स्वस्थ मासुको विक्रिवितरण गर्न नगरले वडा नम्बर १ मा आधुनिक वधशाला निर्माण गरेको छ । करिब ७५ लाख रुपैयाँको लागतमा वधशाला निर्माण गरिएको पथरीशनिश्चरे नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख हेमचन्द्र दाहालले बताए ।

वधशाला निर्माण पछि पथरी बजारमा बाहेक अन्य ठाउँमा मासु बेच्न बन्द गर्न लागेको दाहालले बताए । पथरीशनिश्चरे नगरपालिकाको २५ लाख तथा पशुपन्छी तथा मत्स्य विकाश निर्देशनालय विराटनगरको ५० लाख रुपैयाँमा सो वधशाला निर्माण भएको हो ।

वधशालाको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र भदौ वाट पुर्णरुपमा वधशाला सञ्चालनमा आउने दाहालले जानकारी दिए । निर्देशनालयले वधशाला निर्माण सुधार कार्यक्रम अन्तर्गत १ नम्बर वडाको पथरी बजारस्थित गोसलाइनमा निर्माणाधीन वधशालाको पनि टोलीले अनुगमन गरेको छ ।

वधशालामा दैनिक ठुला पशु ५ वटा र साना १२ वटासम्म वध तथा प्रशोधन गर्न मिल्ने छ ।