धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका ६ जनाले आज कोरोना जितेर निको भई घर फर्केका छन् ।

धरान १७ को एन्फा क्वारेनटाइनमा बसेका धरान ७ र १७ का महिला सहित मोरङका २ पुरुष र २ महिला गरी ४ जनाको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

आज मात्रै प्रतिष्ठानमा १६ जना नयाँ कोरोना सङ्क्रमित बिरामी उपचारका लागि आइसोलेसनमा भर्ना भएका छन् । अहिले प्रतिष्ठानमा ४४ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् भने अहिले सम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या १ सय ९१ जना पुगेको छ ।

यसैबिच धरान १७ स्थित एन्फा क्वारेनटाइनमा बस्ने ३४ जनाको स्वाब लिइएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार ५ महिला र २६ जना पुरुष गरी एन्फा क्वारेनटाइनमा बस्ने ३१ जना र होल्डीङ सेन्टरमा कार्यरत नेपाली सेना १ महिला र २ पुरुष गरी ३ जना गरी जम्मा ३४ जनाको स्वाब सङ्कलन गरिएको छ ।

PCR-Test