धरान : लक डाउन सुरु भए सँगै अस्पतालहरूले कोरोना सँग सम्बन्धित बिरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य बिरामीको उपचार सुरु गरेका हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ ।

कोरोना वाकेका अन्य रोगका बिरामीहरूलाई उपचार तथा परामर्श दिन चिकित्सकहरूको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्प लाइन सेवा सुरु गरी उपचार सुरु गरेको थियो ।

फाउन्डेसनले हेल्प लाइन बाहेक १० जना बिरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १ सय २० जनालाई सेवा दिएको र विभिन्न स्थानमा रहेका बिरामीहरूको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले बताए । उपचार सँगै विभिन्न सङ्घ संस्थाकोहरुको समन्वयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए ।

लकडाउन केही खुकुलो हुँदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिँदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जाल वाट भने सेवा दिइरहने बताए । “फेसबुकबाट भने हाम्रो सेवा निरन्तर रहने छ ”उनले भने –हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने छ ।”

अस्पतालहरूले ओपिडी सेवा सुरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाइन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममाबाट भने उपचार सेवा कायम राखेको फाउन्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धन केशर खड्काले बताए ।

चिकित्सक र सर्वसाधारण बिचको दुरी कायम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्देश्यले स्थापित फाउन्डेसनले स्वास्थ्य शिविरमा निःशुल्क औषधी सहित विशेषज्ञ सेवा दिँदै आएको छ ।