धरान : नेपालको राजनितिबृत्तमा पछिल्लो समय एउटा पार्टी दर्ताको कुराले ठुलै तरङ्ग ल्याएको छ ।

निर्वाचन आयोगमा नेकपा एमाले नामको एउटा राजनीतिक दल दर्ता भएको कुराले नेपाली राजनीतिक वृत्तमा निकै ठुलो हलचल ल्याएको छ । कत्तिले प्रधानमन्त्री, राष्ट्रपतिको निर्देशनमा निर्वाचन आयोगमा दर्ता भएको हुनसक्ने नेकपा भित्रकै केही जिम्मेवार नेतृत्वहरुले भनिरहेको बेलामा निर्वाचन आयोगमा दर्ताको लागि पुगेको नेकपा एमाले नयाँ पार्टीले नेपाली राजनीतिमा निकै चर्चा कमाएको हो ।

अझ नेकपा एमालेका अध्यक्ष सन्ध्या तिवारी को हुन् ? काहाकी हुन ? भन्ने कुराले निकै चासो बढाएको छ । निर्वाचन आयोगमा दल दर्ताको लागि परेको निवेदनमा सन्ध्या तिवारी तत्कालीन विराटनगर ६ र अहिले वडानं. ५ की बासिन्दा भनिएको छ । कम्युनिस्ट राजनीतिमा लागेका कसैले पनि अहिले सम्म नचिनेको नजानेको सन्ध्या तिवारीको बारेमा पनि पछिल्लो समयमा चर्चा निकै चुलिएको छ ।

नेकपा विराटनगर उपमहानगर कमिटीका अध्यक्ष सागर थापाले पनि यो नामसँग आफ्नो कुनै चिनजान र पार्टीमा भेटघाट र जिम्मेवारी विराटनगरमा नदेखिएको बताएका छन् । विराटनगरको नेकपामा पनि आ आफ्नै खालका अडकलबाजीहरु भएका छन् । अध्यक्ष थापाले भने “ कम्युनिस्ट पार्टीमा त्यस्तो देखिएको मान्छे नभएकोले कुनै जनवर्गिय सङ्गठनमा आबद्ध भएको हुनसक्छ ।”

नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठन भएर अहिले निर्वाचन आयोगमा दर्ता भएको छ । अव ४५ दिन पछि आयोगले आफ्नो प्रक्रिया पुरा गरेर प्रमाणपत्र दिने नव गठित नेकपा एमालेका महासचिव मनिष कुमार उपाध्यायले बताएका छन् । पार्टीको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी उल्लेख छ । नयाँ नेकपा एमालेको अध्यक्षमा मोरङ जिल्ला विराटनगरकी ४७ वर्षीया सन्ध्या तिवारी छिन् ।

महासचिवमा मनिषकुमार उपाध्याय धनुषाका छन् । उपाध्यक्षमा रामेछापकी भगवती खड्का छिन् । प्रदेश अनुसार सचिव छन् । प्रदेश १ मा खोटाङकी अस्मिता सुनार, प्रदेश २ मा सर्लाहीका दावा लामा, बागमती प्रदेशमा रौतहटका जयराम राउत, गण्डकीमा पर्वतका खगेन्द्र प्रसाद भुसाल, ५ नं प्रदेशमा अर्घाखाँचीकी राधा पुरी, कर्णाली प्रदेशमा डोल्पाका हिराबहादुर बोहरा र सुदूरपश्चिम प्रदेशमा बाजुराकी तारादेवी शाही छिन् । जम्मा केन्द्रीय कार्य समिति २१ सदस्यीय रहेको पनि महासचिव उपाध्यायले जानकारी दिएका छन् ।

नेकपामा पछिल्लो समय देखिएको समस्या सँगै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेका कारण झन् नेकपाको राजनीतिमा थप तरङ्ग र कौतुहलता ल्याएको छ ।

यसबारेमा नेकपा जिल्ला कमिटी तेह्रथुमका सदस्य तथा प्रदेश सांसद लक्ष्मण तिवारीले अहिले नेकपा पार्टी भित्र भइरहेको अन्तरद्वन्द सँगै नयाँ नेकपा एमाले पार्टीले नेकपा भित्रै आशङ्का जन्माएको छ । विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भइरहेका तस्बिरहरूले गर्दा झन् थुप्रै आशङ्का उब्जिरहेको बेलामा सांसद तिवारीले भने“ नेकपा भित्रका नेतृत्वहरूको सहानुभूति प्राप्त गरेका मानिसहरूले नै नेकपा एमाले दर्ता गरेका हुन भने नेकपा भित्र समस्या देखिन सक्छ , होइन भने यसको कुनै अर्थ हुँदैन ।

नेकपा भित्रको अन्तर्द्वन्द्व समाधान गरेर नेतृत्वले अघि बढ्नुपर्छ । पार्टी भित्रको समस्याको निकास दिएर पार्टीलाई अघि बढाउने तर्फ नेकपाको नेतृत्व वर्गको ध्यान जानुपर्ने सांसद तिवारीले बताए ।

नयाँ नेकपा एमाले किन ?

नेपालमा कम्युनिस्ट विचारका राजनीतिक दलहरू छन् ।

यी दलहरू आ आफ्नो हैसियतमा पुगेका पनि छन् । तर पछिल्लो समय निर्वाचन आयोगमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ता भएको छ । आयोगबाट आधिकारिकता पाउनका लागि दिन कुरिरहेको छ । नेकपा एमाले जन्मिनुको कारणबारे महासचिव मनिषकुमार उपाध्यायले भने “ नेपाल कम्युनिस्ट पार्टी भित्र मदन भण्डारीको विचार र सिद्धान्तलाई उठाउनका लागि यो पार्टी दर्ता भएको हो ।"

अहिले दर्ता भएको नेकपा एमालेका सबै सदस्यहरू नेपालका कम्युनिस्ट नेता मदन भण्डारीको विचार र सिद्धान्तबाट प्रेरित छौ । यसले गर्दा हामीले पार्टीको नाम नेकपा एमाले राखेका हौ । अहिलेको नेकपाका एमाले खेमाका नेतृत्वहरुसंगको साठगाँठको कुरामा महासचिव उपाध्यायले भने“ नेकपाको वर्तमान राजनीतिक अवस्थाले गर्दा आशङ्का गरिएको मात्रै हो , कसैसँग साठगाँठ छैन ।” यस्तो हामीलाई आशङ्का गर्नु वर्तमान नेकपाको राजनीतिमा देखिएको अवस्थाले गर्दा अडकल गरिएको एउटा संयोग मात्रै हो ।

नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारी को हुन त ?

नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारी विराटनगर निवासी हुन् ।

कत्तिले माइती विराटनगर र घर झापाको शिवगन्ज भने पनि महासचिव उपाध्यायले विराटनगरको बासिन्दा र झापा मावली भएको बताए । तर अहिले उनी काठमाण्डौमानै बस्ने गरेकी छिन् ।

अध्यक्ष तिवारीको बारेमा विभिन्न अडकलबाजीहरु आइरहे पनि सन्ध्या तिवारी को हुन भन्ने कुरा जान्नका लागि निर्वाचन आयोगले प्रमाण पत्र दिएको दिन कुर्नुपर्नेछ । महासचिव उपाध्यायका अनुसार पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको दिन मात्रै अध्यक्षलाई सार्वजनिक गरिनेछ ।

यी तस्बिरहरूका कारण नेकपा भित्र विभिन्न आशङ्काहरू उब्जिएका हुन्

AShmita-Sunar
प्रधानमन्त्री केपी शर्मा ओली संग प्रदेश १ की सचिव अस्मिता सुनार
Bhagawati
राष्ट्रपति विद्यादेबी भण्डारीको साथमा उपाध्यक्ष रामेछापकी भगवती खडका
Bhagawati-Facebook
 
तस्बिरहरु : सामाजिक सन्जालहरुबाट