इटहरी : इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि आएको ३ वर्ष पुरा भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात् द्रुतगतिमा विकास हुन्छ भन्ने विश्वास थियो । तर जनप्रतिनिधिले निर्वाचनताका उठाएका घोषणापत्रमा उठाएका मुद्धाहरु पुरा नहुँदा बजार क्षेत्रमै त्यसको समस्या बढ्नै गएको छ ।

इटहरीको मुख्य चौकमै रहेको इटहरी उपमहानगरपालिका कार्यालय अगाडी सामान्य पानी पर्नासाथ डुबानको समस्या देखा पर्छ । लामो समयदेखि विद्यमान समस्या समाधान नहुँदा उपमहानगरमा आउने सेवाग्राही देखी स्थानीयलाई समस्या पर्दै आएको छ । वडाध्यक्ष देखी मेयर उपमेयरको घोषणापत्रमा परेको व्यवस्थित ड्रेन निमार्ण गर्ने बाचा तुहिएपछि यस्तो समस्या आएको हो ।

त्यस सँगै इटहरी मुख्य बजार भएर बग्ने ट्याङ्ग्रा र खेती खोला साघुरीदै जाँदा बजार क्षेत्र झनै जोखिममा पर्दै गएको छ । निजी भवन तथा घरले खोलाको जग्गा मिच्दा समेत बेवास्ता भएपछि बजार बर्खाको समयमा बजार क्षेत्र डुबानमा पर्ने गरेको हो ।

itahari-duban-ashad-24 उता इटहरी ५ पचरुखी स्थित योगेन्द्र मार्गका स्थानीयले समेत उपमहानगरले डुबानको समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । स्थानीय प्रकाश भट्टराईका अनुसार दिनहुँ आवत जावत गर्ने बाटो खोला जसरी तर्नुपर्ने भएकोले समस्या भएको बताउँछन् । लामो समय देखी वडाध्यक्ष कल्याण कार्कीलाई जानकारी गराएको भएपनि वास्ता नगरेको उनको गुनासो छ । अफिस जाँदा वा बजार जानुपर्दा धेरै समस्या हुने गरेको उनले सुनाए ।

अर्का स्थानीय केदार नेपालले जनप्रतिनिधिले बेवास्ता गरेको आरोप लगाए । वडाध्यक्ष देखी मुख्यमन्त्री सम्मलाई भेट्दा समेत बाटोको स्तरोन्नति नभएको उनको भनाइ छ । नेपालका अनुसार सो मार्गमा पर्ने ४६ घर परिवारले दैनिक समस्या भोग्नु परेको छ । ३ महिना अगाडी देखी वडाध्यक्ष कार्कीसँग आफैले कुरा गरेको र कार्कीले आफै भिडेर बाटो बनाइदिने बाचा गरेका थिए । बर्खाको मौसम सुरु भएपछि पनि आफूले भेटेको तर पैसा उठाएर आउनु भन्ने जवाफ दिएको उनको भनाइ छ ।

यस विषयमा बुझ्न खोज्दा वडाध्यक्ष कार्की सँग सम्पर्क हुन सकेन । यता उपमेयर लक्ष्मी गौतमले भने ३ वर्षको कार्यकाल सुशासन र विकासमा खर्च भएको बताएकी छिन् । फेसबुकमा पोस्ट गर्दै उनले ३ वर्षमा आफूहरूले बाचा गरे अनुसार काम गरेको र जनताको अपेक्षा पुरा गरेको उनको तर्क छ ।