धरान : सरकारी स्वास्थ्य संस्थाले मात्रै गर्दै आएको कोरोनाको आरडिटी परीक्षण धरानको विजयपुर हस्पिटलले पनी गर्ने भएको छ ।

सरकारले मात्रै गर्दै आएको आरडिटी परीक्षण धरानको विजयपुर हस्पिटलले गर्न पाउने भएकोले आरडीटी किट खरिदका लागि प्रक्रिया अघि बढाइएको हस्पिटलका निर्देशक प्रभाव खतिवडाले बताए ।

स्वास्थ्य निर्देशनालय धनकुटाले विजयपुर हस्पिटल धरानलाई केही दिन अघि कोरोनाको आरडिटी परीक्षण गर्ने अनुमति दिएको निर्देशक खतिवडाले बताए । अनुमति पाए लगत्तै आरडिटी किट किन्ने प्रक्रियामा अघि बढी सकेको र किट नपाएकोले हस्पिटलले आरडिटी परीक्षण गर्न नसकेको बताइएको छ ।

किटको खरिद मूल्य भन्दा २० प्रतिशत बढी परीक्षण गर्ने मूल्य तोकिने निर्देशक खतिवडाले बताए । आरडिटी परीक्षणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको दायरा बढाउनका लागि अव सरकारीमा मात्रै सीमित नराखेर निजी स्वास्थ्य संस्थाहरूलाई पनि कोरोना परीक्षण गर्न दिने भने अनुसार धरानमा विजयपुर हस्पिटललाई अनुमति दिइएको हुन सक्ने प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईँले बताए ।

किट खरिद गर्न पाइएको खण्डमा हप्ता दिन भित्रमा विजयपुर हस्पिटलबाट कोरोनाको आरडिटी परीक्षण सुरु गरिने पनि विजयपुर हस्पिटलका निर्देशक खतिवडाले बताए ।