इटहरी : सत्तारुढ दल नेकपा भित्रको विवादको प्रभाव कार्यकर्ता स्तरमा पर्न थालेको छ ।

मङ्गलवार इटहरीमा आयोजित एक कार्यक्रममा नेकपा सुनसरीका नेता मदन चुडालले नेकपा विवादले कार्यकर्ता स्तरमा निराशा छाएको बताएका छन् । पार्टी एकता हुँदा कार्यकर्तामा देखिएको ऊर्जा जोस जागर बिस्तारै खस्कँदै गएको उनको भनाइ छ । पार्टीको तर्फबाट सरकारमा सामेल भएपछि पार्टीको निर्देशनमा काम गर्न नसक्दा विवाद बढेको उनको बुझाइ छ ।

जनताले दिएको बहुमतको कदर नगरी पार्टी नेतृत्व अगाडी बढ्दा समस्या भएको चुडाल बताउँछन् । त्यस्तै नेकपाका युवा नेता सुनिल कार्कीले पनि केन्द्रीय तहमा भएको विवादको चपेटामा स्थानीय कार्यकर्ताहरू परेको उनको भनाइ छ । कार्यकर्ताहरू पनि संयमित नहुने र अमुक नेतालाई उचाल्ने काममा लाग्दा झनै समस्या बढेको उनको बुझाइ छ ।

त्यस्तै अर्का स्थानीय नेता समीप ढकाल पनि नेताहरू सत्ताको लुछाचुँडीमा परेको बताउँछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिलो प्रधानमन्त्री हुँदा प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था मिलाएको कुरा अहिले ओझेलमा परेको उनको भनाइ छ । सस्तो लोकप्रियताको लागी ल्याइने यस्ता कार्यक्रमहरू निरन्तर चलाउन नसक्नु दुर्भाग्य भएको उनको बुझाइ छ ।

नेकपा इटहरीका नगर सदस्य डिल्ली आचार्य नेताहरू पदको लागी लड्दा कार्यकर्ता समेत विभाजित हुन थालेको बताउँछन् । कतिपय अवस्थामा कार्यकर्ताहरुनै नेतालाई उचाल्न लागी परेको उनले बताए । बहुमत प्राप्त पार्टी जनताको लागी भन्दा पनि सत्ताको लागी लडेको जस्तो देखिएकोले निराशा छाएको उनको भनाइ छ । यस विषयमा कार्यकर्ताले चाकरी गर्न छाड्नुपर्ने नेताहरू जनताको हितमा लाग्नुपर्ने उनी सुझाउँछन् ।