इटहरी । सुन्दरहरैचा ५ का साराङ्ग राई नगरपालिकाको दुर्गम भेगमा बस्छन् । गरिबिको चपेटामा परेको फोक्ल्याङ्ग टापुमा उनको घर छ । त्यही गरिबीबाट बच्न इटहरी सम्म दाउरा बेच्न ल्याउँछीन उनी ।

छोराहरू पनि रोजगारीको खोजीमा इटहरी तिर त आउँछन् तर सिप नभएपछि खाली हात फर्किन्छन् । बाढीले बगाएका दाउरा चिरेर इटहरी बेच्न ल्याउँछिन् उनी । करिब दुई घण्टाको पैदल यात्रा पछि इटहरी पुग्ने उनको भनाइ छ ।

‘एक भारी दाउराको तिन सय आउँछ । कहिले काहीँ त्यो पनि बिक्दैन र दुइसयमै छाडेर हिँड्नुपर्छ,’ उनी सुनाउँछिन् । त्यसैको भरमा घरमा मरमसला साग सब्जी लाने गरेको राई बताउँछिन् । बाढीले बारम्बार दुख दिने भएपछि विकल्प रोजेको उनको भनाइछ ।

सोही ठाउँका कमल लिम्बु उमेरले ६० हाराहारीका छन् । उनी पनि दाउरा बेच्नलाई इटहरी आउँछन् । प्राय दुइदिनमा उनको यो दैनिकी दोहोरी रहन्छ ।‘पहिला खेती थियो अहिले बगर भयो । अब त्यही बगरमा जे छ त्यही बेचेर खानुपर्ने भयो,’ लिम्बु भन्छन् ।

बुढी, सेरा र लाटी खोला को बाढीको कारण बारम्बार समस्या भोग्नुपरेको उनीहरू सुनाउँछन् । तिन खोलाको त्रिवेणी घाट जस्तो देखिने फोक्ल्याङ्ग टापुमामा बर्सेनि बाढीको समस्या देखा पर्छ ।

वन्यजन्तु र बाढीको त्रासले उनीहरूको होस हावसनै उडाएको बताउने उनीहरू त्रासकै जीवन बाचिरहेका छन् । यस्तो समस्या हुँदापनी जनप्रतिनिधिले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ । तटबन्ध गरेर समस्या समाधान गरिदिने बचन दिएका राजनैतिक दलका नेताहरू चुनावपछि अहिले सम्म एक पटक पनि नपुगेको उनीहरू बताउँछन् ।