इटहरी : इटहरीको मूल चोकलाई इटहरी उपमहानगरपालिकाले २०७७/७८ को बजेटमा पृथ्वी आकारको स्मारक बनाउने प्रस्ताव गरेको । वीरेन्द्र चोक समेत भनेर चिनिने इटहरीको मूल चोकमा पृथ्वी आकारको स्मारक राख्दै पृथ्वी चोक नाम राख्ने प्रस्ताव बजेटमा गरिएको छ ।

पहिले स्व. राजा वीरेन्द्र शाहको सालिक रहेको स्थानमा उक्त संरचना निर्माण गर्न लागिएको हो । उपमहानगरले इटहरी चोकमा स्मारक निर्माण गरी विगतमा स्वर्गीय राजा वीरेन्द्रको सालिक भएको स्थानमा नेपालको नक्सा सहितको पृथ्वी आकारको स्मारक निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

जनआन्दोलनको क्रममा वीरेन्द्रको सालिकलाई २०६२/०६३ को क्रममा तत्कालीन आन्दोलनकारी विद्यार्थीहरूको समूहले भत्काएका थिए । सालिक भत्काएपछि अहिले उक्त स्थान खाली रहेको छ ।

उपमहानगरले भने इटहरीको पहिचान झल्काउने भन्दै सो स्थानमा पृथ्वीको स्मारक राखेर पृथ्वी चोक नामकरण गरिने आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरेको हो ।

उपमहानगरपालिकाले पृथ्वी चोक बनाउने प्रस्ताव गरेकोमा अहिले मिस्त्रित प्रतिक्रिया आउन थालेका छन् । तत्कालीन आन्दोलनले फोडेको सालिकको अवशेषलाई सङ्कलन गरेर पुनः सालिकको रूप दिएका बाबुराम प्रधान भने इतिहास मेट्न नहुने तर्क गर्छन् ।

विद्यार्थी आन्दोलनले ढालेको सालिकको अवशेषलाई ल्याएर प्रधानले अहिले बिरेन्द्रको सालिक घरमा राखेका छन् । अहिले इटहरी चोकमा पृथ्वीको स्मारक बनाउने विषय बाहिर आएपछि वीरेन्द्रकै सालिक चोकमा राखे हुन्थ्यो भन्ने लाग्छ ।

'आन्दोलनले भत्काएको सालिकलाई व्यक्तिगत खर्चमा बनाएर राखेको छु' प्रधानले भने 'खुट्टा मात्र वाकी रहेको सालिकलाई रूप दिएको छु, उपमहानगरले चोकमा राख्छु भनेर जतिबेला माग्छ त्यति बेला दिन्छु ।'