इटहरी : इटहरीको मूलचोक लाई अहिले सम्म पनि वीरेन्द्र चोकको रूपमा चिन्ने गरिएको छ । दोस्रो जनआन्दोलन अगाडी सम्म बिरेन्द्रको सालिक भएकाले वीरेन्द्र चोक भनिन्थ्यो जसलाई अहिले गोलो चोक भनेर समेत चिनिन्छ ।

अहिले सोही चोकलाई इटहरी उपमहानगरपालिकाले पृथ्वीको आकृति सहितको पृथ्वी चोक नाम राख्ने प्रस्ताव बजेटमा ल्याएको छ । इटहरीको मूल चोकलाई इटहरी उपमहानगरपालिकाले २०७७/७८ को बजेटमा पृथ्वी आकारको स्मारक बनाउने प्रस्ताव गरेको हो ।

पृथ्वीको नक्सामा नेपालको नक्सालाई ठुलो पारेर चोकमा आकृति बनाउन लागिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन । बिरेन्द्रको सालिक राख्नु पर्छ भनेर अहिले बहस सुरु भए पनि गौतम भने पृथ्वी चोक नै राख्नु पर्ने बताउँछिन् ।

जनआन्दोलनको क्रममा वीरेन्द्रको सालिकलाई २०६२/०६३ को क्रममा तत्कालीन आन्दोलनकारी विद्यार्थीहरूको समूहले भत्काएका थिए । सालिक भत्काएपछि अहिले उक्त स्थान खाली रहेको छ । सोही ठाउँमा पुनः बिरेन्द्रको सालिक राख्ने भन्दा पृथ्वीको आकारमा नेपालको नक्सालाई ठुलो बनाएर पृथ्वी चोक नै नाम राख्ने गौतम बताउँछिन् ।

उपमहानगरले भने इटहरीको पहिचान झल्काउने भन्दै सो स्थानमा पृथ्वीको स्मारक राखेर पृथ्वी चोक नामकरण गरिने आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरेको हो ।

'त्यहाँ भएको सालिक (वीरेन्द्र) पहिले आन्दोलनले नै ढालेको हो' सक्किएको विषयलाई पुन प्रयोगमा नल्याउने सङ्केत गर्दै गौतमले भनिन् 'आन्दोलनले ढालेको विषयलाई उठाउन सकिदैन् ।'