इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दृष्टि विहीन छन् । तर उनी सामान्य जनप्रतिनिधि भन्दा बढी सक्रिय देखिन्छन् । २०६२/६३ सालमा भएको जनआन्दोलनको इटहरी बाट नेतृत्व गरेको बताउने चन्द्रप्रसाद भट्टराई अहिले वडाको नेतृत्व गरिरहेका छन् ।

‘कहिलेकाहीँ मैले सुन्ने गरिनै त कहिले नसुन्नै गरी पनि मेरो शारीरिक कमजोरीको नकारात्मक चर्चा पार्टी भित्र हुने गरेको पाएको छु । तर त्यसले मलाई कुनै लधुताभाष हुँदैन । बरु साथीहरू म भन्दा अझै कमजोर रहेछन् भन्ने लाग्छ । जसले मलाई थप ऊर्जाशील बनाइरहेको छ,’ उनले भने ।

३ वर्षे कार्यकालमा धेरै चुनौतीको सामना गर्नु परेको उनी सुनाउँछन् । वडा नं ४ जनसङ्ख्याको हिसाबले इटहरीको सबै भन्दा ठुलो वाड हो । ३ वर्ष भित्रमा बाटो बत्तीको समस्या समाधान गर्ने योजना सफल भएको उनको भनाइ छ । त्यसका साथै डुबान र कटानको समस्यालाई दीर्घकालीन समाधानको लागी काम भएको उनले बताए ।

उनी आवश्यकता पुरा भएपछि मात्र थप विकास मा लगानी गर्नु पर्ने तर्क राख्छन् । एकातिर बाटो हिलो भइरहेको छ , तर अर्को तिर पार्कको योजना बन्यो भने त्यसलाई विकास नहुने उनको बुझाइ छ । सुरुमा बाटो बन्नु अनि मात्र पार्क तिर लाग्नु विकास मानिन्छ भन्ने उनको धारणा छ ।

इटहरी बिच बजार भएर बग्ने टेङ्ग्रा खोलामा सिटी बोटीङ चलाउने उनको प्रस्तावलाई धेरै पागल कुरा भनेर उडाएको उनले बताए । तर अहिले त्यही पोजेक्टमा चाइनिज कम्पनी लगायत स्थानीय युवालेनै लगानी गर्ने गरी काम भएको उनको भनाइ छ । जसबाट पर्याप्त आम्दानी गर्न सकिने आधारहरू फेला परेको छ ।

आधुनिक तटबन्ध गर्ने । दुवै तिर पार्क निर्माण गर्ने । जसलाई ग्रिनरीको रूपमा विकास गरी सहरको नयाँ पहिचानको रूपमा विकास गर्न सकिन्छ । खोलाको आसपासमा बिरुवा, तथा फलफूल रोप्न सकिन्छ । त्यही वाल्क स्ट्रिट निर्माण गरेर इभिनिङ् वा मर्नीङ्ग वाल्क गर्ने स्ट्रिट बनाउन सकिने उनको तर्क छ ।

वडा नं ४ लाई आगामी २ वर्ष भित्रका सबै भन्दा धेरै स्वरोजगार युवा भएको वडा बनाइने उनको योजना छ । त्यसको लागी क्रृस्टलका गहना बनाउने तालीम बाट काम सुरु भएको उनको भनाइ छ । यसै गरी हरेक युवा, महिला, गृहिणी, ज्येष्ठ नागरिक सबैलाई आर्थिक हिसाबमा जोड्न सकिने उनी बताउँछन् ।

‘यो एक वर्ष सम्म के गर्न सकिन्छ भनेर अनुसन्धान भएको छ ।’ उनी भन्छन्, ‘अबको २ वर्ष भित्रमा इटहरीकै नमुना वडा बनाउने सङ्कल्प लिएको छु ।’

कौसी खेती देखी सार्वजनिक जग्गा लिजमा दिएर युवा उद्यमशीलता विकास गर्ने सम्मका उनको योजना छ । जसमा उपमहानगरले उत्पादन गरेका सामग्री बिक्री गर्ने नयाँ किसिमको इटहरी बजार बनाउन सकिन्छ । जसबाट सस्तो, अर्गानीक र गुणस्तरीय सामाग्री पाउने उनको बुझाइ छ । यसले गर्दा युवाहरूले रोजगार त पाउने नै भए उपमहानगर पनि स्वबलम्बि हुने उनको तर्क छ ।