धरान: नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले बिहीवार बाट कार्यभार सम्हालेका छन्।

एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो।क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका थिए।

आइजिपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।उनी अब २२ महिना आइजिपी पदमा रहनेछन्।आजै यसअघिका आइजिपी ठाकुरप्रसाद ज्ञवाली बिदाइ हुँदैछन्। उनी गत माघमा आइजिपी भएका थिए। उनको कार्यकाल पाँच महिनामात्रै रह्यो।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पुरा तागत यसमा लगाउने वाचा गर्दछु ।”

सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्‍याउने विश्चास व्यक्त गरेका थिए ।