धरान : धरान उपमहानगरपालिकाको सातौँ नगर सभा आज चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ ।

असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत भएर स्थगित भएको नगर सभा हिजो र आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा भएको थियो । नगरसभामा हिजो आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक, आर्थिक विधेयक, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजश्व परिचालन विधेयक २०७७ प्रस्तुत भएको थियो ।

यसै गरी न्यायिक समिति र सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि हिजै प्रस्तुत गरिएको थियो । हिजो प्रस्तुत भएको विधेयक र प्रतिवेदनमाथि आज बिहान धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव तथा संशोधन सम्बन्धी प्रस्तावहरू टिपाउन हिजै आग्रह गरिएको थियो ।

सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । यस पटक सातौँ नगर सभामा गत वर्षको तुलनामा ५ करोड ५६ लाख ४३ हजार ५ सय रुपैयाँले कम बजेट धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको थियो ।

7nth-Nagarsava-1 7nth-Nagarsava-2