धरान : धरानका स्वर्गीय मेयर तारा सुब्बाको दोस्रो स्मृति दिवस आज धरान उपमहानगरपालिकामा मनाइएको छ ।

आज हरियाली सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. तारा सुब्बाको सालिकमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले माल्यार्पण गरी श्रृद्धान्जलि अर्पण गरे । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया राईले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उद्यान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद्धता जनाए ।

मेयर सुब्बाको स्मृति पार्क निर्माणका लागी हरियाली सामुदायिक वनले साढे ३ कठ्ठा जग्गा उपलब्ध गराएको छ । एक वर्ष अघि पार्कमा स्व. सुब्बाको अर्ध कदको सालिक स्थापना गरिएको छ । हाल नेकपा पार्टी तथा पार्टी प्रतिनिधिहरूको सहयोगबाट विभिन्न संरचनाहरू निर्माण भइरहेको छ ।

धरान उपमहानगरपालिकाको विकास र समृद्धिमा सुब्बाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आज धरानवासीले स्वर्गीय सुब्बालाई सम्झेका हुन् । कार्यक्रममा बोल्दै धरानका मेयर तिलक राईले हालसम्म धरानमा ३ वटा नेतृत्व आइसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए एउटा गतिले विकास हुने बताएका छन् । २०७४ सालको स्थानीय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष, कार्यवाहक मेयरका रूपमा मञ्जु भण्डारीले डेढ वर्ष र हाल म नेतृत्वमा आएको छु । यसरी ३ वटा नेतृत्व फेरिँदा विकासले सोचेजस्तो गति लिन सकेको छैन । उनले भने, मलाई अहिले सन्तुलन मिलाउन गाह्रो परेको छ । तर पनि स्व. सुब्बाले देखेको धरानको विकासको सपनालाई नै मेरो नेतृत्वमा पनि निरन्तरता दिएको छ । नेतृत्व गर्नेले भने स्वास्थ्यमा समेत ख्याल राख्नुपर्ने सन्देश समेत उनको देहान्तले दिएको मेयर राईले बताए ।

स्वर्गीय सुब्बाको स्मृति कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डल, प्रदेश १ सांसद सावित्री जोशी, उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो मुकेश, प्रदेश कमिटी सदस्य तथा धरान नगर इन्चार्ज अइन्द्रबिक्रम बेघा, सुनसरी जिल्ला सचिवालय सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, सह इन्चार्ज पदम इस्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सचिवालय सदस्य प्रकाश राई, नगर अध्यक्ष नारायण सुवेदी, नगर सचिव सुदर्शन श्रेष्ठ लगायत विधार्थी नेता तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

यता धरान उपमहानगरपालिकामा पनि स्वर्गीय तारा सुब्बाको स्मृति दिवस मनाइएको छ । सो कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारी लगायतको उपस्थिति रहेको थियो ।