धरान : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति पक्राउ गरेको छ ।

नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाउने धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई ब्युरोले असार ३१ गते धनकुटाबाट पक्राउ गरेको हो । टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता डीएसपी वेलबहादुर पाण्डेले जानकारी दिए ।

उनी सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको पाण्डेले जानकारी दिए । उनले नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरेका थिए ।

विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार नै नेपाल प्रहरी साइबर ब्युरो, काठमाडौं पठाइएको छ ।