धरान : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ को पानी ट्याङ्की नजिक गए राति प्रहरी र तस्कर समूहबिच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले बताए । घाइते हुनेमा सुनसरीको देवानगन्ज-२ का पिन्टु यादव र ३ का राजेश यादव रहेको डिएसपी शर्माले बताए ।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतीय सीमा क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको प्रहरीले बताएको छ ।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि तस्कर समूहले गोली चलाएको प्रहरीको दाबी छ । सोही क्रममा प्रहरी र तस्कर समूहबिच झडप भएको प्रहरीले जनाएको छ । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउन्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

तीन जना भारततर्फ फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएका र फरार भएका तस्करी, लागु औषधको कारोबार, हात हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।