धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको क्रममा मृत्यु भएका सप्तरी राजविराजका मृतकको शव धरानबाट सप्तरी लगिएको छ ।

बिहीबार राति आइसोलेसनमा राखिएका उनको मृत्यु भएको थियो । मृत्यु पछि डेडबडी डिस्पोजेवल ब्यागमा राखी प्रतिष्ठानको शव गृहमा शवलाई सुरक्षित राखिएको थियो ।

सप्तरीको राजविराज नगरपालिका ६ निवासी ७३ वर्षीय पुरुष उनी राजविराजका व्यापारी रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनी मुटु, उच्च रक्तचाप र मधुमेहको रोगी भएकोले अस्ति असार ३१ गने प्रतिष्ठानमा उनलाई गम्भीर अवस्थामा उपचारका लागि ल्याइएको थियो । ल्याइएको दिन नै उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिने बित्तिकै उनलाई आइसोलेसन वार्डमा सारिएको र उनको त्यही मृत्यु भएको थियो ।

उनको शवलाई नेपाल सरकारले निदृष्ट गरेको स्वास्थ्य प्रोटोकल अनुसार विशेष स्वास्थ्य सुरक्षाका साथ गृह जिल्ला सप्तरी प्रतिष्ठानबाट लगिएको छ ।  मृतकको शवलाई व्यवस्थापन गर्न सप्तरी जिल्लाले विशेष तयारी गरी कोसी नदी किनारामा अन्त्येष्टि गर्ने गरी टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।