धरान : सुनसरीको सिमाबर्ती क्षेत्र हरीनगर गाउँपालिकाको वडा नं.७ घुस्किीमा गएराति तस्कर र सशस्त्र प्रहरीबीच झडप हुदा गोली लागि तस्कर समुहका १ जना गम्भिर घाईते भएका छन् ।

सशस्त्र प्रहरीको नम्वर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले दिएको जानकारी अनुसार हरीनगर गाउँपालिका ७ को घुस्कीमा राति भारतबाट आएका तस्कर समुहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पडकिदा एक जना तस्करको पेटमा गोली लागेर गम्भिर घाईते भएका छन् । तस्करको पेटमा लागेको गोली पछाडि ढाडबाट निस्किएको छ ।

घाइते हुने हरीनगर ७ घुस्कीका २० बर्षिय सहजद जट (सवाद) अन्सारी रहेका छन् । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

हरीनगर-७ घुस्कीको जटवरा भन्ने स्थानमा भएको झडपको क्रममा एक जना सशस्त्र प्रहरी जवान जीवराज विसुन्खे पनि घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको बताईएको छ ।

उनको पनि राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएर उपचार गरिएको र अहिले पकली हस्पिटलमा राखेर उपचार गरिरहेको बताईएको छ । भारत तर्फबाट राति सामान ओसारपसार गर्ने समुहले सिमामा खटिएका सशस्त्र प्रहरीसंग जर्वजस्ती गर्दै हतियार खोस्न खोजेपछि राति ९ बजे झडप भएको थियो ।

भारत तर्फबाट तस्करको ठुलै समुहले विओपीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।

घटनास्थलमा अहिले सशस्त्र प्रहरीका डिएसपी मित्रलाल श्रेष्ठको टोलीमा ठुलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीको नम्वर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले जानकारी दिएका छन् ।