धरान : सुनसरी प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ठुलो परिणामको अवैध माछा नियन्त्रणमा लिइएको छ ।

भारतबाट नेपाल ल्याउँदै गर्दा सुनसरीको भाण्टाबारी नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोरोनाको महामारीले विश्व आक्रान्त भइरहेको बेलामा अन्तरदेशिय आयात निर्यातमा माछाजन्य बस्तुमा गर्नु नहुने बताइएको छ ।

अन्तरदेशिय आयात भएको पाएपछि सुनसरी प्रहरीले मागुर जातको माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए । नियन्त्रण गरिएको माछा ठुलो परिमाणको भएको जानकारी दिदैं उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विस्तृत जानकारी दिने तयारी भइरहेको बताए ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १८ एवं पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को दफा १७ बमोजिम गुणस्तर तथा मापदण्ड सम्बन्धी व्यवस्थाको विपरीत भएकाले मागुर जातको माछा नेपाल ल्याइँदै गरेको अवस्थामा पक्राउ गरिएको बुझिएको छ ।

भाण्टाबारी नाकाबाट ल्याइएको सो माछा स्वास्थ्यको हिसाबले खान अयोग्य भएको र निकै ठुलो परिमाणको रहेको स्रोतले बताएको छ । नियन्त्रणमा लिइएको माछा धरान, विराटनगर, पोखरा र काठमाडौँ सम्म निर्यातको लागि नेपाल ल्याइएको बुझिएको छ ।

यसरी माछा आयत गर्दा माछा खानयोग्य हो की होइन यसबारेमा निकासी अनुमति प्रमाणपत्र र परीक्षण लगायतको कागजात हुनुपर्नेमा केही पनि नभेटिएको बताइएको छ । यसबारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीले विस्तृत जानकारी दिनका लागि सोमबार पत्रकार सम्मेलन गर्दै छ । यस सम्बन्धमा थप विस्तृत जानकारी आउन बाँकी नै छ ।