काठमाडौं : संघिय संसद्मा राष्ट्रियमान्यता प्राप्त तीन दल मात्र कायम भएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी बनेको जानकारी संसद्मा आएपछि अब नेकपा, कांग्रेस र जसपा गरी तीन दल राष्ट्रिय पार्टीका रूपमा संसद्मा रहने भएका हुन्।

संसद्मा एक सिट भएका दल चारवटा रुपमा छन्। संसद् सचिवालयले एकीकृत समाजवादी पार्टीलाई संसदीय दलको कार्यालय एउटा मात्र दिने तयारी गरेको छ ।

निर्वाचन आयोगबाट असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ९४० बमोजिम राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गरेका थिए। निर्वाचन आयोगले त्यसको जानकारी शुक्रबार संघीय संसद् सचिवालयमा पठाएको थियो।

२०१६, २०४८, २०५६, २०६४, २०७० सालमा भन्दा २०७४ को संसद्मा प्रतिनिधित्व गर्ने दल कम भएका छन्। २०१६ सालको निर्वाचनमा७राष्ट्रिय र ४ स्वतन्त्र दलसंसद्मा आएका थिए भने २०४८ सालमा ५ राष्ट्रिय २ स्वतन्त्र दल संसद्मा आए। २०५६ सालमा ७ दल आए तर पहिलो संविधानसभा र दोस्रो संविधानसभामा दलको संख्या निकै धेरै आयो। पहिलो संविधानसभामा २५ दल थिए भने दोस्रो संविधानसभामा ३० दल थिए।

२०७४ सालमा भने चार दलले राष्ट्रिय मान्यता पाएकोमा दल एकीकरण भएपछि अब तीनओटा दल मात्र राष्ट्रिय दल बनेका हुन्।