धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना विद्यार्थी र अर्को एक जना उपचारमा आएका बिरामीमा कोरोना पुष्टि भएको छ ।

प्रतिष्ठानमा एमबिबिएस पाँचौँ वर्षको प्र्याकटिकल परीक्षा दिन भारतबाट आएकी एक छात्रालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । एमबिबिएस पाँचौँ वर्षको प्र्याकटिकल परीक्षा दिन भारतीय विद्यार्थीहरू पनि आएका थिए । त्यस क्रममा करिब डेढ सय विद्यार्थीहरू प्रतिष्ठान आएका थिए । भारतबाट आएका ३६ जनाको कोरोना परीक्षा गर्दा एक जनामा मात्र पोजेटिभ रिपोर्ट आएको बताइएको छ । सङ्क्रमित विद्यार्थीलाई आइसोलेसनमा भर्ना गरिएको बताइएको छ ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक जना बिरामीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनको उपचार आइसियुमा भइरहेको थियो । केही दिन अघि उनी धनुषाको जनकपुरबाट उपचारका लागि प्रतिष्ठान ल्याइएको ६० वर्षीय पुरुष रहेको बताइएको छ ।

इमरजेन्सीमा उपचारका लागि ल्याइएका उनलाई अहिले आइसोलेसनमा रहेको आइसियुमा राखेर उपचार गरिरहेको बताइएको छ । प्रतिष्ठानको अहिले सञ्चालनमा रहेको आइसोलेसन वार्डमा २ बेड भ्यान्टुलेटर सहितको आइसियु रहेको बताइएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ भने १ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १० जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले जानकारी दिएका छन् ।