धरान : केही दिनदेखि निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ ।

सप्तकोसी नदीको बहाव हिजो बिहान सम्म सामान्य रहे पनि दिउसो देखि बहाव उच्च हुँदै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । कोसीको पछिल्लो मापन अनुसार ३ लाख ४२ हजार ९७०  प्रतिसेकेण्ड क्युसेक पानीको बहाव रहेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजको ५६ ढोका मध्ये ४७ वटा ढोका खोलिएको छ ।

यो मापन वर्षकै उच्च मापन गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव अझै बढिरहेको बताइएको छ ।

पानीको बहाव बढ्न थालेपछि सुनसरी प्रहरीले कोसीको तटीय क्षेत्रमा सुरक्षित रहन भन्दै सर्वसाधारणलाई जानकारीकालागि माइकिङ पनि गरेको छ । हिजो बराहक्षेत्र -६ स्थित पूर्वी तटबन्धमा कटान भइरहेकोमा सो क्षेत्रमा मर्मत सम्भार गरेकोले कटान गर्न रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए ।

आज पनि कोसीको तटीय क्षेत्रमा अलर्ट गरिएको उनले बताए । कोसी नदीले सतर्कता तह पार गरेको उनले बताए ।

खासाको ‘केरुङ च्छो’ ताल भरियो , नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह चीन सरकारको आग्रह

यसैगरी चिनियाँ सरकारले आफ्नो क्षेत्रमा निरन्तर वर्षा भइरहेको भन्दै नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको खासामा रहेको केरुङ च्छो भन्ने ताल बढेर फुट्न सक्ने भन्दै भोटेकोसी-सुनकोसी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रशासन सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडिचौर लगायतका सबै भोटेकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

Sindhupalchok-letter