इटहरी : पूर्वपश्चिम राजमार्ग देखी ५ सय मिटर दक्षिण इटहरी १६ धेरै विकसित क्षेत्र मानिन्छ । सडक, बिजुली, शिक्षा लगायतको सहज पहुँच भएको क्षेत्र हो इटहरी १६ । तर सोही ठाउँमा डुबानको कारण एक साता देखी खान र शौच गर्न समेत समस्या भएको छ ।

सामान्य पानी पर्दा नै स्थानीय शोभा दाहालको घर डुबान हुन्छ । पानीको निकास नहुँदा विगत २ वर्ष देखी उनले यस्तै समस्या भोग्दै आइरहेकी छिन् । पहिला पानीको निकास सहज भएको र पछि नयाँ बाटो बन्ने क्रममा निकास बन्द भएकोले समस्या भएको उनले बताइन् ।

जमेको पानीले निकास नपाउँदा भान्सा कोठा देखी शौचालय सम्म पानी भरिने गरेको उनको भनाइ छ । अघिल्लो वर्ष देखी देखा परेको समस्याको बारेमा उपमहानगरपालिका कार्यालयमा गएर मेयर द्धवारीकलाल चौधरीलाई भन्दा समेत सुनुवाइ नभएको उनले बताइन् । मेयर चौधरीले सोही निकासको लागी अदालतमा मुद्दा परेकोले केही गर्न नसक्ने प्रतिक्रिया दिएको उनी सुनाउँछिन् ।

‘चुनावको बेला नेताहरू हात जोडेर आउने तर निकास बिनाको विकास गरेजस्तो गर्ने ?,’ उनले प्रश्न गरिन्, अब अर्को पटक भोट चाहिँदैन ? जनता चाहिँदैन ? १ महिना देखी न सफा पानी खान पाएको छु न सफा वातावरण नै पाएको छु ।’

सोही गाउँका हरी नेपालका अनुसार बाटो बन्ने क्रममा निकास बन्द भएको र डुबान सुरु भएको हो । पहिलाको निकास बन्द भएको र पछि निजी जमिनबाट निकास सुरु भएपछि समस्या बढेको उनको भनाइ छ । पछि सोही विषयलाई लिएर जग्गा धनीले अदालतमा मुद्दा हालेको र जिल्ला अदालत सुनसरीले कुनै पनि काम नगर्नु भनी स्टे अर्डर दिएकोले निकास खोल्न नसकिएको उनले बताए । दाहाल लगायत सोही टोलका अन्य घर पनि डुबानमा पर्न थालेका छन् । निकासको समस्याले गर्दा इटहरीका धेरै बस्तीहरू डुबानमा पर्न थालेका छन् ।

उता वडाध्यक्ष दीप नारायण चौधरीले आफूहरू समस्या समाधान गर्न लागी परेको बताएका छन् । उनका अनुसार अदालतको अर्डर अनुसार काम गर्नुपर्ने र जनताको समस्या पनि समाधान गर्नुपर्ने भएकोले केही दिनमै समस्या हुन्छ । मेयर र वकिल सँगको परामर्शमा चाडै निकास निकालिने उनले बताए ।

Itahari-Duban-1