धरान : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मको लागि स्थगित भएको छ ।

बाढी –पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको बताइएको छ । आज बिहान ११ बजेको लागि तय भएको बैठक २ घण्टा स्थगित भई फेरी सुरु भएको थियो । पटक पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो १ः १५ मा सुरु भएको थियो भने दिउँसो १ः४५ मा आधा घण्टा पछि बैठक सकिएको थियो ।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाढी र पहिरो प्रभावितको उद्धार तथा राहतका लागि पार्टीले विशेष प्रस्ताव पारित गरेको जानकारी दिए । अब अर्को बैठक १३ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको उनले बताएका छन् ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबिचको फोन संवादपछि बैठक सारिएको बताइएको छ ।

बैठक सुरु भएता पनि प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका छैनन् । केही दिनअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

नेकपा भित्र प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताले स्थायी कमिटीमै राखे पछि नेकपामा विवाद छ । सहमति खोज्न स्थायी समिति बैठक पटक पटक स्थगित गर्दै अध्यक्ष द्वय ओली र पुष्पकमल दाहालबिच छलफल भए पनि कुनै सहमतिमा पुग्न सकेको छैन ।