धरान : धरानका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

धरान १७ स्थित एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । क्वारेनटाइनमा बराइनबाट आएका धरान ८ का ३२ वर्षीय पुरुष, धरान १७ का ५० वर्षीय पुरुष, धरान ११ का ४२ वर्षीय पुरुष र साउदी अरबबाट आएका धरान ५ का २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

साउन ४ गते एन्फा क्वारेनटाइनमा बस्ने ४८ जनाको स्वाब लिइएको थियो । ४८ जना मध्ये ४ जनाको पोजेटिभ र बाँकी ४४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।  सङ्क्रमित ४ जना मध्ये धरान ८,१७ र ११ का ३ जना साउन ३ गते बराइनबाट नेपाल आई पुगेको र भोलि पल्ट धरान आई पुगेका हुन भने एक जना धरान ५ का सङ्क्रमित भने साउदी अरबबाट होल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् ।

सङ्क्रमित चारै जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउन तयारी भइरहेको बताइएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ भने १० जना निको भइसकेका छन् ।

यसै गरी आज मात्रै एन्फा क्वारेनटाइन, होटल क्वारेनटाइन र होम क्वारेनटाइनमा बसेका र सशस्त्र प्रहरी सहित ३२ जनाको फेरी स्वाब लिइएको छ ।