धरान : सरकारले मङ्गलवार मध्यरात देखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।

सरकारले कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य गरिएको जानकारी दिएका छन् ।
सरकारले निजी सवारी साधनमा जोर बिजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइने गरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको छ । 

त्यस्तै लामो दुरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको छ ।

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बार लगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरू, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना नखुल्ने बताइएको छ ।