इटहरी : नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्बर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला,विशिष्ट अतिथि संविधानसभा सदस्य अनिता परियार,मेयर द्धारिकलाल चौधरी लगायत जनप्रतिनिधि राजनीतिक दलका नेताहरू र स्थानीयले वृक्षारोपण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका बिरुवा जोगाउन सके मात्र वृक्षारोपण सफल हुने बताए ।

उनले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गरे । विशिष्ट अतिथि परियारले सम्वृद्धिलाई निष्कर्षमा पुर्‍याउन पुष्पलालले सिकाउनुभएको समन्वय र सहकार्यलाई व्यवहारमा उर्तान सक्नुपर्नेमा जोड दिए । मेयर चौधरीले गाउँका जनतालाई उपमहानगरवासी भएको अनुभूत हुने गरी काम भइरहेको प्रस्ट पारे ।

उनले मदन स्मृति दिवस,वीपी स्मृति दिवस र पुष्पलाल स्मृति दिवसका अवसरमा गाउँमा वनेका सडक किनारामा वृक्षारोपण गरिएको बताए । वडाध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुःखी लाल चौधरीले स्वागत मन्तव्य राखेका थिए ।