धरान : विजयपुर एफएम ९८.८ मेगाहर्जबाट आज देखि रेडियो शिक्षा कार्यक्रम सुरु भएको छ ।

धरान उपमहानगरपालिका र विजयपुर मिडिया ग्रुपको सहकार्यमा आज देखि सुरु भएको सो रेडियो शिक्षा कार्यक्रमको नाम रेडियो शिक्षा घर घरमा कक्षा राखिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण लकडाउनले गर्दा विद्यालयहरू बन्द हुँदा विद्यालयमा जना नपाई घरमै रहेका विद्यार्थीहरुलई लक्षित गरी रेडियो शिक्षा कार्यक्रम रेडियोबाट सुरु गरिएको विजयपुर मिडिया ग्रुपका अध्यक्ष हिमाल राईले बताइन् । अव देखि हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म कक्षा १० को अनिवार्य नेपाली र अनिवार्य अङ्ग्रेजी विषय रेडियो मार्फत शनिवार बाहेक हप्ता भरी पडाइने बताइएको छ ।

लकडाउनको बेलामा अनलाइन कक्षा सञ्चालन गरिए पनि रेडियोबाट पठन पाठन गराउँदा अझ प्रभावकारी हुने भएकोले रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिइन् ।

रेडियो शिक्षा कार्यक्रम रेडियोबाट अडियो र विजयपुर एफएमको अफिसियल फेसबुक पेज र युट्युबबाट भिडियो पनि प्रत्यक्ष प्रसारण गरिने रेडियो शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक सुभचन्द्र राईले बताए ।
विजयपुर एफएमबाट सुरु भएको रेडियो शिक्षा घर घरमा कक्षा कार्यक्रमले अनलाइनमा हेरेर पढ्न चाहने र रेडियोबाट सुनेर पढ्न चाहने दुवै विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको संयोजक राईले बताए ।

पछिल्लो समय सामान्य मोबाइल सेटमा समेत एफएम रेडियो हुने भएकोले रेडियो सबैको पहुँचमा भएकोले रेडियो शिक्षा कार्यक्रम निकै प्रभावकारी हुने बताइएको छ । कार्यक्रममा अनिवार्य नेपाली सुरज राई र अनिवार्य अङ्ग्रेजी बमप्रकाश राईले पढाउने विजयपुर मिडिया प्रालिले जनाएको छ ।

Radio-Sikchha-1