धरान : विभिन्न महत्वपुर्ण योजनाहरुको बारेमा धरान उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको टोली गत सोमबार देखि काठमाण्डौंमा छन् । उनीहरुले विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीहरुलाई भेटघाट गरिरहेका छन् ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसहितको टोली दुई दिन अघि काठमाण्डौं गएका हुन् । धरान उपमहानगरको टोलीसँग सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई पनि मन्त्रालयहरुमा गएका छन भने उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, धरान वडा नं १७ का अध्यक्ष मनोज भट्टराई, खानेपानी व्यवस्थापन बोर्डका सदस्यहरु पनि काठमाण्डौं गएका छन । अहिले हाल धरानमा कार्यवाहक मेयर वडा नं २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठ छन् ।

काठमाण्डौं गएको टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहयक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको सांसद जयकुमार राईले जानकारी दिए । उनीहरुले हिजो उर्जा मन्त्री बर्षमान पुन र भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङलाई भेट गरेको सांसद जयकुमार राईले बताए । 

बुधबार मन्त्रालयमा कोशी कोरिडोर हाइन्टेन्सन लाइनले सर्दु जलाधार क्षेत्रमा पारेको असरबारे छलफल भएको थियो भने भौतिक पुर्वाधार मन्त्रालयमा कोशी राजमार्ग र मदन भण्डारी राजमार्गको मापदण्डबारे सकरात्मक छलफल भएको थियो । धरानबाट गएको टोली आइतबार धरान फर्कने मेयर राईले कपुरीलाई जानकारी दिए ।

drn-news 1