धरान : धरानको एन्फा क्वारेनटाइनमा आइपुगेका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बराइनबाट साउन ४ गते नेपाल आइपुगेको र ५ गते चतराको होल्डीङ एरिया हुँदै धरान १७ को एन्फा क्वारेनटाइन आई पुगेका धरान १५ का ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

साउन ६ गते एन्फा क्वारेनटाइन, होम क्वारेनटाइन र होटल क्वारेनटाइनमा बस्ने सँगै सुरक्षामा खटिएका सशस्त्र प्रहरी गरी ३२ जनाको स्वाब सङ्कलन गरिएको थियो । जस मध्ये ३१ जनाको नेगेटिभ रिपोर्ट आएको र सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका ३ जना बाहेक अरूलाई डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमित पुष्टि भएका युवालाई भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा पठाइएको पनि धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या यो सँगै १५ पुगेको छ । १० जना कोरोना मुक्त भएका छन् भने थप ५ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ ।