विराटनगर : विराटनगर महानगरपालिकाले कोरोना सङ्क्रमितको विवरण लुकाउने विराट नर्सिङ होम (विराटनगर अस्पताल) सिल गरेको छ ।

हिजो सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, र स्थानीय प्रशासनसँगको समन्वयमा आज विराट नर्सिङ होम शील गरेको हो ।  शुक्रवारबाट सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङ र ‘डिसइन्फेक्ट’ को काम थालिने छ । आज विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीको नेतृत्वमा पुगेको टोलीले अर्को सूचना नभएसम्म यो कायम रहने जानकारी दिएको छ ।

मङ्गलवार अस्पतालले गलत विवरण भरेर स्वाब सङ्कलन गरी कोसी अस्पतालमा जाँचका लागि पठाएको थियो । विवरण नै गलत भएका कारण रिपोर्ट आएपछि सङ्क्रमितको खोजी गर्न स्थानीय प्रशासन र प्रहरीलाई समस्या भएको थियो ।

सङ्क्रमित व्यक्ति चिकित्सक हुन । उनले उपचार गरेका बिरामी, उनको सम्पर्कमा आएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा गार्ड लगायतको परीक्षण गरिने छ । अस्पताललाई पनि सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्नुपर्ने कार्कीले बताए । सिल गरिएको अवधिभर अस्पतालको ओपिडी तथा आकस्मिक कक्ष बन्द हुनेछ । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी हुनेछ ।

महानगरले सेनिटाइज नगर्ने
सामान्य अवस्थामा सङ्क्रमित भेटिएको स्थानमा विराटनगर महानगरले सेनीटाइज गर्दै आएको थियो ।

तर विराटले सङ्क्रमितको विवरण लुकाएका कारण आफै सेनीटाइजको काम गर्नुपर्ने भएको छ । ‘तत्काल सेनीटाइज गरेर अस्पताल सुरक्षित बनाउनुपर्छ ।’ महाशाखा प्रमुख कार्कीले भने, ‘ विवरण लुकाउने काम भएको छ, उहाँहरू आफैले सेनिटाइज गर्नुपर्छ ।’

कोरोना जाँचको अघिल्लो दिनसम्म काम गरे
मङ्गलवार अस्पतालका सञ्चालक मध्येका एक ६५ वर्षीय चिकित्सकको स्वाब सङ्कलन गरिएको थियो । बुधवार कोरोना पोजेटिभ देखिएपछि उनी सम्पर्क विहीन भएका थिए ।

उनको खोजीमा ठुलो मेहनत गरेका प्रहरी र महानगरका कर्मचारीले धेरै सास्ती बेहोर्नु पर्ने अवस्था आयो । बिहीबार दिउँसो भने उनी आफै महानगरको सम्पर्कमा पुगेका थिए । अस्पताल स्रोतका अनुसार सङ्क्रमित चिकित्सक स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन । उनी सोमबार पनि डिउटीमा थिए । सङ्क्रमित व्यक्ति विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा पनि पुगेको बताइएको छ ।

तर कोरोना जाँचका लागि उमेर ५० वर्ष र नाम र ठेगाना अर्कै लेखाइएको थियो । स्वाब सङ्कलनका क्रममा नाम हरिबहादुर कार्की लेखिएको थियो । मोबाइल नम्बर पनि गलत लेखेका थिए । सङ्क्रमितको भनेर टिपाइएको नम्बर धनकुटामा कार्यरत एक प्रहरीको थियो ।

सङ्क्रमितलाई अस्पताल प्रशासनले लुकाएको पाइएपछि कारबाही अघि बढाउन प्रक्रिया थालिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।