धरान : मोरङ जिल्लाको केराबारी गाउँपालिकामा फरक क्षमता (अपांगता ) भएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई १० रुपैयाँको लोभ देखाउँदै केराबारी–५ का ६३ वर्षीय रामकुमार लिम्बूले बलात्कार गरेका हुन ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक वृद्धलाई बिहीबार राति पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रहरीले राति १० बजे पक्राउ गरेर लिम्बूलाई कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि वृद्ध पक्राउ परेका हुन्। 

लिम्बूले बिहीबार दिउँसो ४ बजेतिर बालिकामाथि जबरजस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। ललाईफकाई खेतमा लगेपछि १० रुपैयाँ पैसा दिएर बालिकामाथि बलात्कार गरेको खुलेको छ।

प्रहरीका अनुसार बालिकाको शरीरको एउटा पाटो चल्दैन । उनी राम्ररी बोल्नसमेत सक्दिनन् । बालिकाका अभिभावकले बलात्कारमा संलग्न लिम्बूलाई कानुनी कारबाहीको माग गर्दै शुक्रबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।