धरान : कोरोना सङ्क्रमित प्रहरी इनरुवा बजार क्षेत्रमा धेरै मानिससँग भेटघाट गरेको र घुमेको पाइएपछि शुक्रवार साँझ देखि इनरुवा बजार बन्द गरिएको छ ।

पछिल्लो समय लकडाउन हटेको भन्दै सर्वसाधरणहरुको बजारमा भिडभाड बढ्न थालेको र सङ्क्रमित व्यक्ति बजारमा धेरैसँग भेटघाट गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले बजार पसल बन्द गर्ने निर्णय गरी उद्योग वाणिज्य सङ्घ इनरुवा र इनरुवा नगरपालिकालाई निर्देशन दिएकोले बजार पसल बन्द गराइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरी र इनरुवाका जनप्रतिनिधिहरूको बैठकले सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पछि पिसिआर जाँच गर्ने र त्यसको रिपोर्ट नआएसम्म बजार, पसल, कार्यालयहरु समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको बताईएको छ । सङ्क्रमितसँग क्लोज कन्ट्रयाकमा रहेका ४० जनाको भोलि पिसिआर टेस्ट हुन्छ र त्यसको रिपोर्ट नआएसम्म इनरुवा बजार बन्द रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

बिहीबार विराटनगरमा सङ्क्रमित पुष्टि भएका एक प्रहरी इनरुवा घर भएको खुलेको थियो । उनी इनरुवाबाट नै विराटनगर काममा आउजाउ गर्ने गरेका थिए । त्यस क्रममा उनी इनरुवामा धेरै ठाउँ पुगेको र भेटघाट गरेको खुलेपछि प्रशासन र स्थानीय तह मिलेर इनरुवा बजार पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो ।