धरान : सप्तरीको राजविराज-६ निवासी कोरोना सङ्क्रमणबाट मृत्यु भएका ७२ वर्षीय वृद्धको सम्पर्कमा आएका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले दिएको जानकारी अनुसार ७२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएपछि कनट्र्याक्ट ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । उनका परिवारका ५ जना र कर्मचारी र व्यापारिक साझेदार सहित ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

मृतकका ६७ वर्षीय पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीय बुहारी, १७ वर्षीय नाति र ११ वर्षीय नातिनीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै उनका ग्याँस पसलमा काम गर्ने ४९ वर्षीय पुरुष र अर्का ३७ वर्षका पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

राजविराज-८ का ३७ वर्षका पुरुषकी ३२ वर्षीय पत्नीमा पनि सङ्क्रमण पुष्टि भएको छ । उनी गजेन्द्रनारायण सिंह अस्पतालकी नर्स भएको खुलेको छ ।

अस्पतालका नर्समा समेत सङ्क्रमण भेटीएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब सङ्कलन गरिएको छ । कर्मचारीमा सङ्क्रमण देखिएन, तर इमर्जेन्सीका एक जनामा सङ्क्रमण भेटिएको छ ।

यस्तै मृतकको पसलमा काम गर्ने ४९ वर्षीय पुरुषको कट्याक ट्रेसिङका क्रममा उनकी ४० वर्षीय पत्नी, १५ वर्षीय छोरी, १७ वर्षीय भतिजी र १५ वर्षीय भतिजामा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर छिमेकी लगायतको पनि स्वाब सङ्कलन गरिएको थियो ।

मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनकी ४७ वर्षीय पत्नी पनि सङ्क्रमित भएको पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङ्कै क्रममा वृद्धलाई भेट्ने ६३ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भएको पाइयो । उनीसङै २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ भएको पाइएको छ ।

कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा मृतकलाई उपचार गराउन धरानसम्म लिएर गएका ४० वर्षीय गाडी चालकको पनि रिपोर्ट पोजेटिभ आएको छ । मृतकको घरमा गएर भाँडावर्तन सफा गर्ने ५५ वर्षीय महिला पनि पोजेटिभ देखिए देखिएको छ ।

मृतककै घर अगाडि रहेको चिया नास्ता पसलका सञ्चालकमा कोरोना परीक्षण गर्दा उनीसँगै परिवारका चार सदस्यमा सङ्क्रमण पुष्टि भएको पाईएको छ । वृद्धको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय वृद्ध र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ देखिएको छ ।

अहिलेसम्म सम्पर्कमा आएका २६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

जति पनि कोरोना सङ्क्रमितहरू बाहिरबाट आएको नभएर मृतकको सम्पर्कमा रहेकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएकोले सप्तरीको राजविराजमा समुदायमै कोरोना फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मृतकलाई कसरी कोरोना सङ्क्रमण भयो त ?

मृतक राजविराज-६ का एक व्यापारी हुन् । उनका श्रीमतीमा स्वास्थ्य समस्या आएपछि उनी भारतमा श्रीमतीको उपचारका लागि गएका थिए । लकडाउनमा उनी उतै रोकिए । भारत र नेपाल दुवै तिर लकडाउन केही खुकुलो भएको बेलामा उनी नेपाल आए । नेपाल आउँदा उनी क्वारेनटाइनमा नबसी सिधै घरमा आएर बसे ।

यसरी घरमा आएर बस्दा मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धरान उपचारका लागि ल्याइयो । कोरोनाको आशङ्कामा परीक्षण गर्दा २ साउनमा रिपोर्ट पोजेटिभ आयो । राति ८ बजेतिर कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । त्यसको केही घण्टामै उनको निधन भयो ।

उनी भारतबाट आएपछि उनका आफन्त र नातेदारहरू घरमा भेट्न आएका थिए । त्यही भेट्न आउने सबैमा कोरोना सङ्क्रमण भएको पाइएको छ । 'यदि क्वारेनटाइनमा बसेको भए समुदायमा संक्रमण फैलने थिएन' स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले भने ।

सप्तरीमा अहिले पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय १८ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र भएकोले गर्दा  बिहिवारदेखि सप्तरीको राजविराज बजार फेरि पुर्णरुपमा बन्द गरिएको छ ।