धरान : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर विराटनगरको कोसी अस्पतालमा उपचारका लागि ल्याइएका दुवैको मृत्यु कोरोनाको कारण नभएको पुष्टि भएको छ ।

उदयपुरको कटारी नगरपालिका ५ का २३ वर्षीय पदम राईको श्वास प्रश्वासमा समस्या भएर अस्पताल ल्याउने क्रममा उनको कोसी अस्पताल विराटनगरको इमरजेन्सी अगाडी एम्बुलेन्समै मृत्यु भएको थियो । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक युवाको कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै विराटनगरको नोबेल र कोसी अस्पतालले भर्ना गरेका थिएनन् । अस्पतालले भर्ना नगर्दा एम्बुलेन्सभित्रै शुक्रवार दिउँसो साढे ३ बजे राईको मृत्यु भएको थियो ।
कोसी अस्पतालमा परीक्षण गर्दा युवकमा कोरोना नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएपछि शव आज बिहान परिवारका सदस्यलाई बुझाइएको छ ।

यसै गरी विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी महिलाको पनि कोरोना नेगेटिभ रिपोर्ट आएको छ । शुक्रवार दिउँसो २ बजेतिर मृत्यु भएकी सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीय जंगलीदेवी सदाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना सङ्क्रमण भएको आशङ्कामा उनलाई बिहीबार आइसोलेसनमा भर्ना गरेर स्वाब परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।