धरान : सुनसरी सदरमुकाम इनरुवामा कोरोना सङ्क्रमित प्रहरीको आउजाउ भएको र धेरै जना सँग भेटेको भन्दै फेरि लकडाउन गरिएको छ ।

अस्तिको दिन जिल्ला प्रशासन कार्यालय सुनसरी, उद्योग वाणिज्य सङ्घ इनरुवा, इनरुवा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधि सहितको बैठक बसी हिजो देखि इनरुवा बजार पुर्णरुपमा लकडाउन गरिएको छ ।

हिजो देखि सर्वसाधारण कसैलाई पनि आवश्यक काम बाहेक घर बाहिर निस्किन दिइएको छैन भने उद्योग वाणिज्य सङ्घ इनरुवाका व्यापारी, नगर प्रहरी, जनप्रतिनिधि र प्रहरी आफैले लकडाउनलाई कडा पार्नका लागि आव्हान गर्दै सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएका छैनन् ।

हिजो ४१ जना आशङ्का गरिएकाहरूको स्वाब सङ्कलन गरिएको छ उनीहरूको रिपोर्ट नआउन्जेल सम्मलाई इनरुवा बजार पुर्णरुपमा बन्द राख्ने इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले बताए । उनका अनुसार अनुसार हिजो परीक्षण गरिएका ४१ जना मध्ये केहीमा फेरि कोरोना पोजेटिभ रिपोर्ट आएको खण्डमा लकडाउन निरन्तर रहने छ ।

त्यस पछि पिसिआर परीक्षणको दायरालाई बढाएर समुदाय स्तरमा पनि स्वाब सङ्कलन गरी परीक्षण गरिने छ । यदि सबैको नेगेटिभ रिपोर्ट आएमा भने फेरी छलफल गरेर लकडाउनलाई खुलाएर व्यावस्थीत तरिकाले बजार पसल खोल्न दिइने प्रमुख मेहेताले बताए ।

नेपाल सरकारले जसरी लकडाउन खुलेको घोषणा गरेको छ त्यस्तो भने अव इनरुवामा नहुने प्रमुख मेहेताले बताए । स्वास्थ्य सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरेर बजारहरूमा अनिवार्य सामाजिक दुरी कायम गराउने र गर्ने वातावरण तय गरिएर मात्रै बजार खोलिने छ ।