धरान : प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १ महिला सहित १९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

समुदाय स्तरमा कोरोना सङ्क्रमण भएको भन्दै विराटनगर उपमहानगरपालिकाले समुदाय स्तरमा सङ्क्रमण फैलिएको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकै दिन विराटनगरमा एकै दिन २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज विराटनगरमा ३ महिला सहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरी हुन । प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई बुधवार र चार प्रहरीलाई बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै प्रदेश प्रहरीमा कार्यरत २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

आज कोरोना सङ्क्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिएका छन् । त्यस्तै विराटनगरका तीन जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये विराटनगर– ३ का दुई जना हुन । एक जनाको स्पष्ट ठेगाना उल्लेख भएको छैन ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका अनुसार इलाममा पनि नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा २२ र इलाममा ९ गरी प्रदेश १ मा आज ३१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । यो सँगै १ नम्बर प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय २२ पुगेको छ ।

यसै गरी कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष सहित आज बसेको नगरको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । बैठकले मास्क अनिवार्य लगाउनुपर्ने, नलगाउनेलाई पहिलो पटक १० रूपैया दिएर आफैँ उपलब्ध गराउने र दोस्रो पटक पनि नलगाएको पाइए कारबाही गर्ने निर्णय गरेको छ । सर्वसाधरणहरुलाई कोरोनाको जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ ।