धरान : ताप्लेजुङमा सडकको खाल्डोमा फसेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङको दोभान बजारबाट झापाको बिर्तामोडतर्फ फर्कंदै गरेको मे १ख १८६५ नम्बरको ट्रक निकाल्न सहयोग गर्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लागेपछि जिप चालक २७ वर्षीय विकास सुनुवारको आइतबार मृत्यु भएको हो ।

मे १ च ३०११ नम्बरको जिपमा यात्रु लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दोभान बजार जाँदै गरेका सुनुवारले हिलाम्मे सडकमा फसिरहेको ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा करेन्ट लागेको हो । उनी पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङ निवासी हुन् । ट्रक चालक अमृत श्रेष्ठ पनि घाइते भएका छन् ।

हिलाम्मे बाटोमा फसेको ट्रक निकाल्न विकासले चक्कामा ढुंगामाटो राखिरहेकै बेला ११ हजार भोल्ट विद्युत प्रवाह भएको तारमा ट्रक छोइएको थियो । बिजुलीको थ्रीफेज लाइनमा रहेका तीनवटा तारमध्ये एउटा तार अलि तलै लत्रिएका कारण ट्रकमा छोइएको स्थानीयले बताएका छन् । ट्रकचालक श्रेष्ठ भने ढोकाबाट हामफालेका थिए ।

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले अनुसार घटनाको विस्तृत अध्ययन भइरहेको बताए ।