धरान : सुनसरी सदरमुकाम इनरुवामा लकडाउन जारी छ ।

केही दिन अघि विराटनगरमा कार्यरत इनरुवा बासी एक जना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि इनरुवामा धेरैसँग भेटघाट गरेको र घुमेको पाइएकोले कोरोनाको जोखिम इनरुवामा बढेको भन्दै तीन दिन अघि देखि लकडाउन घोषणा गरिएको हो ।

लकडाउन घोषणा गरेर सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका र आशङ्का गरिएकाहरूलाई जिल्ला अस्पताल इनरुवामा स्वाब सङ्कलन गरी कोरोना परीक्षणको लागि पठाइएको छ ।

सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआउन्जेल सम्मलाई लकडाउन जारी राख्ने र उनीहरूको रिपोर्ट पोजेटिभ आएको खण्डमा फेरी पनि लकडाउनलाई निरन्तरता दिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

लकडाउन सरकारले घोषणा गरेको भन्दा कडा रहेको र कोही सर्वसाधारण बाहिर निस्किएको खण्डमा अनिवार्य क्वारेनटाइनमा राखिने बताइएको छ । समुदायमा कोरोना सङ्क्रमण नहोस् भनेर कडा लकडाउन गरिएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए । परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट अनुसार आउँदो दिनमा अगाडी बढ्ने उनले बताए ।

Inaruwa-Nirnaya