धरान : सुनसरी सदरमुकाम इनरुवाका ४१ जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो । ४१ जनाकै रिपोर्ट कोरोना नभएको आएकोले अव इनरुवाको लकडाउन के गर्ने भन्ने बारेमा निर्णय गर्न अहिले साँझ ५ बजे पुनः बैठक बसेर निर्णय गरिने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए ।

एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको र उनका कारण समुदायमा कोरोना फैलिएको हुन सक्ने भन्दै चार दिन देखि इनरुवामा जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा उद्योग वाणिज्य सङ्घ इनरुवा र इनरुवा नगरपालिका लगायत जनप्रतिनिधिहरूको संयुक्त बैठकले लकडाउन गर्ने निर्णय गरेको थियो ।

इनरुवामा भरै बस्ने बैठकले लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि अरू बेलाको जस्तो लकडाउन इनरुवामा नखोलिने प्रमुख मेहेताले बताए ।